टीकापुर, असार १५
कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको छ । आज विहानैदेखि परेको वर्षाका कारण नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेको हो ।
वर्षाका कारण कान्द्रा, मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ ।
नदीमा पानीको सतह बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।