धनगढी, असार १४
सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा दुई र कञ्चनपुरमा दुई गरी चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको ज्यान गएको छ ।
त्यस्तै, कञ्चनपुरको पुनार्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापाको र सोही नगरपालिकाको वडा नम्बर ६ टाउन बजार प्रतिभा नगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर ज्यान गएको छ ।
चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते हुनु भएको छ । गुलरियास्थित इशान अस्पतालमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, कैलारी गाउँपालिका–३ का ३२ वर्षीय धनीराम चौधरी र ४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।