Hamro Patra
नगरको गौरवको आयोजना अलपत्र
Khadga Memorial And Janajagriti

योगेश रावल

टीकापुर, बैशाख ३०

टीकापुर नगरपालिकाको गौरवको आयोजना अन्र्तगतको काम समेत निर्धारित समयमा सम्पन्न हुन नसकेको पाईएको छ । टीकापुर पार्क (बंगला) मुख्य प्रवेशद्वार निर्माणको काम समयमा सम्पन्न हुन नसकेको हो । नगरपालिका र न्यू समिप निर्माण सेवाबीच २०७५ भदौ १३ गते भएको सम्झौता अनुसार मुख्य प्रवेशद्वार निर्माणको काम २०७६ बैशाख १५ गते सम्पन्न हुनुपर्ने थियो । तर निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि मुख्य प्रवेशद्वार निर्माणको काम अलपत्र परेको छ । निर्माण सेवाका सञ्चालक ज्ञानेन्द्र शाहले माटो पटानीको काम समयमा हुन नसक्दा मुख्य प्रवेशद्वार निर्माणको काम प्रभावित भएको जिकिर गरेका छन । उनले नगरपालिकाले समयमा माटो पटानीका लागि टेण्डर नगर्दा समस्या भएको बताए । ‘मेरो पक्षबाट धेरै काम भैसकेको छ’ उनले भने–‘माटो पटानीमा नगरपालिकाले ढिलाई गरेकाले समस्या भएको हो ।’ नगरपालिकाले मुख्य प्रवेशद्वार निर्माणको ठेक्का गर्दा माटो पटानी गर्ने कार्यलाई समावेश नगरेको पाईएको छ । आयोजनाको विस्तृत योजना बनाउँदा नै माटो पटानी गर्ने बारेमा उल्लेख नभएकाले नगरपालिकाले छुट्टै टेण्डर गर्नुपर्ने अवस्था आएको हो । ‘माटो पटानीको कुरा छुटेको रहेछ’ नगरपालिकाका इन्जिनियर नविन ओझाले भने–‘माटो पटानीका लागि टेण्डरको तयारीमा छौं ।’ उनले माटो पटानी नभएका कारण मुख्य प्रवेशद्वार निर्माण कार्यमा ढिलाई भएको स्विकारेका छन । नगरपालिकाले मुख्य प्रवेशद्वार निर्माणको समयावधि थप गरेको छ । निर्माण पक्षले दिएको निवेदन अनुसार नगरपालिकाले २०७६ असार १५ गतेसम्मका लागि निर्माण अवधि थप गरेको जनाएको छ । तर ठेकेदार शाहले थपिएको समयमा समेत निर्माण सम्पन्न हुने सम्भावना कम रहेको बताए । उनले नगरपालिकाले ढिलाई गरेका कारण थप केही समय लाग्न सक्ने बताएका छन । ‘निर्माण सम्पन्न हुन असोज÷कात्तिकसम्मको समय लाग्न सक्छ’ उनले भने–‘नगरपालिकाले जति चाँडो माहौल बनायो त्यत्ति चाँडो सकिन्छ ।’ नगरपालिकाले गौरवको आयोजना अन्र्तगतका काममा भैरहेको ढिलाई प्रति वेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरु नगरपालिका र ठेकेदारको मिलेमतोमा मुख्य प्रवेशद्वार निर्माणको काममा ढिलाई भैरहेको आरोप लगाउँछन । यो नगरपालिकाको आन्तरिक बजेटबाट निर्माण भैरहेको गौरवको आयोजना हो । कुल ९९ लाख ३७ हजार ५९७ रुपैयाँ लागत अनुमान गरिएको मुख्य प्रवेशद्वार निर्माणको काम निर्माण पक्षले ५८ लाख ८५ हजार ३६४ रुपैयाँमा सकारेको छ । लागत अनुमान भन्दा धेरै कम रकममा टेण्डर सकारेकाले स्थानीय बासिन्दा मुख्य प्रवेशद्वार निर्माणको गुणस्तरीयता प्रति आशंका व्यक्त गर्छन ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update